पूर्ण कथा
पारिजात
लेखक: DANA KUMARI SUNAR
आजभोलि क्षणक्षणमै
तिमीलाई सम्झिरहेछु पारिजात,
कहिले मभित्र तिमी
कहिले तिमीभित्र म,
रक्त मिश्रणको घोलझैं अनुभूति गरिरहेछु ।
तिम्रो हाडछालासितको सग्लो शरीरसँग
कहिल्यै साक्षात्कार हुन नपाएर कल्पिएकी म,
तिमीलाई नजिकबाट अघाउन्जेल
आँखामा कैद गर्ने मृगतृष्णा मनमा अझै जागृत छ ।
तिम्रो भौतिक शरीरको एक अञ्जुली बास्ना
मेरो शरीरमा छर्न मन थियो
जसले मभित्र स्पातिलो अठोट हुर्काउन सकोस् ।
असमयमै यो धर्तीलाई माया मारेकी तिमी
मेरो छेउकुना अझै मुस्काइरहन्छौ ।
दिर्घ र जीर्ण रोगी शरीरसित कहिल्यै पराजित नभएकी तिमी
आफ्नो दुखाइ र पीडा कसरी लुकाउँथ्यौ ?
सिक्न मन छ ।
दु:खमै आफ्ना भनाउँदाहरूले मुटुमा करौंती लगाउँदा
क्षतविक्षत भएर मनले चीत्कार गर्दा
कसरी व्यथा लुकायौ ?
जान्न मन छ ।
तन्नम अभावमा पनि कसरी
आफ्नो स्वाभिमान अटल राख्न सकिन्छ ?
सिक्न मन छ ।
योनि भएकै कारण तिमीमाथि आइलागेका
चरित्रहीन फत्तुर आरोप,
म र मेरो पुस्ताले आजपर्यन्त भोगी नै रहेका छौं
आईमाई भएकैले आधा धर्ती
अझै मान्छे हुन संघर्ष गरी नै राखेका छौं
तिम्रो पालामा जस्तै आफ्नै वरिपरिका कथित विद्वत पुरुषसामु,
तिमीले आफूलाई साबित गर्न दिएको अग्निपरीक्षा
क्लेष घटे पनि अझै जारी छ ।
तिमीबिनाको समय घर्के पनि
अझै गरीखानेको दिन फिरेको छैन
मुक्तिको सपनामा खेलबाड उसैगरी चली नै रहेको छ ।
अहँ म किञ्चित हारेकी छैन पारिजात
न मेरी प्रिय सखी र छोरी थाकेका छन्,
तिम्रो साहसको एक अञ्जुली विरासत
तिम्रो क्रान्तिको एक खुला आकाश जित्ने प्रतिज्ञा
तिम्रो भर्भराउँदो मुक्तिको रहर
मसँगै बेहिसाब बगिरहेको छ
एक अटल दृढता बनी ।
