Publication date September 1, 2018 at 11:59 PM
Article

Full story

‘जब किसानले बन्दुक उठाउँछ, पुराना मिथक धमिलिँदै जान्छन्। र, बन्देजहरू एकएक गरी बिर्सिंदै जान्छन्। विद्रोहीको हतियार उसको मानवताको प्रमाण हो।’ – ज्याँ पाल सार्त्र (फ्रान्ज फेननको पुस्तक ‘द रेचेड अफ द अर्थ’ को प्राक्कथनमा)।

 

शरीरभित्र मृत्युको दुन्दुभी बजिरहेको आभास हुन्छ। लाग्छ, लासहरूको भारी वर्षा भइरहेको छ। देख्छु– नीलो र रातो रङको कोठे सर्ट, मुख नचिन्नेगरी एसिड वा कुनै रसायन दलिएजस्तो कालो रङ पोतिएको अनुहार। ओठ फुलेको। ज्यान सुन्निए–सुन्निएजस्तो। खैरो रङको जिन्स प्यान्ट। बाढीले बगाएर ल्याएको मुढोजस्तै हिलाम्य लास। गाडिएको लास हेर्दा पहिलेपहिले बाच्छी मर्दा बारीको आडैमा गाडिने सिनोको झझल्को आउँछ। कुकुर र बाजको रात्रिभोजबाट पर राख्न सिनो गाड्दा सायद खाल्डो अलि गहिरो खनिन्थ्यो। तर, अजित मिजार ढकालको लास त पशुको सिनो जत्ति पनि गहिरोसँग गाडिएको थिएन।