पूर्ण कथा
न्यायपूर्ण भविष्यहरूको प्रकाशस्तम्भ : लेखक सरिता परियार कोर्नेल विश्वविद्यालयमा विद्यावारिधि गर्दै
हाम्रा संस्थापक अध्यक्ष एवं लेखक सरिता परियारले सन् २०२५ को फल सेमेस्टरबाट सुरू हुने कोर्नेल विश्वविद्यालयको प्रतिष्ठित एसियाली साहित्य, धर्म र संस्कृति (एएलआरसी) विद्यावारिधि कार्यक्रममा प्रवेशको प्रस्ताव स्वीकारेको जानकारी पाउँदा जस्ट फ्यूचर्स पहल (जेएफपी) अत्यन्त खुसी भएको छ । स्मरणीय छ, उहाँले कोर्नेलमै यही विषयमा फुलब्राइट ग्रेजुएट फेलोसिप र कोर्नेल विश्वविद्यालय फेलोसिपअन्तर्गत दुई वर्षको मास्टर्स कार्यक्रम यही मे २०२५ मा पूरा गर्दै हुनुहुन्छ ।
सघन अध्ययन गर्नुपर्ने विद्यावारिधि कार्यक्रममा सरिता परियारको सहभागिताको मूल्य व्यक्तिगत उपलब्धिभन्दा निकै धेरै छ । उहाँको उपलब्धि जेएफपीले स्थापना गरेको जातको समीक्षात्मक प्रिज्मबाट सम्मान, समता, न्याय र दीगो भविष्यहरूको खोजजस्ता मूल्य–मान्यताको जिउँदो प्रमाणको रुपमा उभिएको छ । अब उहाँको अनुसन्धानले सीमान्तकृत समुदायका आवाज र उनीहरूका जीवन अनुभवलाई फैलाउँदै यस्ता जटिल मुद्दामाथि वैश्विक स्तरमा खोजतलाश गर्ने विश्वास छ ।
यो एउटा ज्ञान उत्पादन गर्ने संस्थाको रुपमा आफूलाई विकास गर्ने जेएफपीको अटूट प्रतिबद्धतालाई रेखांकित गर्ने कोसेढुंगा हो, जसले दलित महिलाहरूका अनुभव, क्षमता, आकांक्षा, प्रेम र खुसीलाई केन्द्रमा राख्छ । आधुनिक प्रविधिको सुविधा र आफ्नो दृढ़ समर्पणका आधारमा सरिता परियारको निरन्तर नेतृत्वमा जेएफपी सबैको न्यायपूर्ण भविष्यका निम्ति नयाँ भाष्यहरूलाई साकार रुप दिने एक विशिष्ट स्थान र महत्वपूर्ण शक्ति बनिरहने गरी क्रियाशील रहनेछ ।
पीएचडीको पढाइ सुरु भएपछि पनि सरिता परियार जेएफपीका काम–कारबाहीसँग गहिरोसँग जोडिएर क्रियाशील रहनुहुनेछ । उहाँ हाम्रो संस्थाको सक्रिय अध्यक्षको रुपमा संचालक समितिका सदस्यका रुपमा सक्रिय हुनुहुनेछ । त्यस्तै, उहाँले दामल फेलोसिपको क्रममा जारी 'जात, लैंगिकता, यौनिकता र वर्गबारे जाँचबुझ : दलित भविष्यहरूको पुनर्कल्पना' बारे क्याप्स्टोन कोर्सका सह–सहजकर्ताको रुपमा पढाउनु हुनेछ भने हाम्रा अन्य मुख्य–मुख्य कार्यक्रममा रणनीतिक सहकार्य गर्नु नै हुनेछ ।
सरिता परियार नेपालमा त्रिभुवन विश्वविद्यालय र कोर्नेल विश्वविद्यालयबीच दीर्घकालिक साझेदारीलाई अगाडि बढाउँदै जात व्यवस्थासम्बन्धी मुद्दामा वैश्विक सहयोगमा वृद्धि र विस्तार गर्ने कामप्रति प्रतिबद्ध हुनुहुन्छ । उहाँको लक्ष्य भनेको यस मुद्दामा हाम्रो बुझाइलाई गहिरो बनाउन तथा दीगो र सार्थक फेरबदल ल्याउन संसारभरका विद्वान्हरू विचारकहरू अभियन्ताहरू र संस्थानहरूलाई जोड्नु रहेको छ ।
सरिता परियारको यात्रा जेएफपीको गुदी : रुपान्तरणकारी बौद्धिकता र व्यवहारप्रतिको प्रतिबद्धतासँग साल–नालजस्तै गाँसिएको छ । उहाँका काम–कारबाहीहरू सबैका लागि न्यायपूर्ण संसार बनाउने गरी पुराना भाष्यहरूमाथि पुनर्विचार गर्न र नयाँ भाष्यहरू सिर्जना गर्न कसरी विचार, व्यक्ति र संस्थाहरू निर्णायक हुने रहेछन् भन्ने कुराका मिसाल हुन् । त्यसैले हामीलाई सरिता परियारप्रति अत्यधिक गौरव छ र हामी उहाँको शैक्षिक र संस्थागत सत्प्रयासका लागि शुभकामना दिन चाहन्छौं ।
